Nepalgunj khabar
२७ असोज, काठमाडौँ। तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर सम्पन्न भएको छ। असोज १७ देखि २४ गतेसम्म काठमाडौँमा सञ्चालन भएको ओलम्पियाडमा नेपालसहित उन्नाइस देशले सहभागिता जनाएका थिए ।
यस खगोल तथा खगोल भौतिक भौतिक ओलम्पियाड-जुनियर विधामा सहभागी विद्यार्थीहरूको सैद्धान्तिक र प्रयोगात्मक परीक्षा लिईएको थियो । सोही परीक्षाको नतिजाका आधारमा ८ स्वर्ण, १३ कास्य, २१ रजत, २८ मानार्थ गरी जम्मा सत्तरी पदक विद्यार्थीहरूले प्राप्त गरेका छन् ।
दुई स्वर्ण पदक प्राप्त गर्नेमा चीन, चेकरिपब्लिक, भारत रहेका छन् भने बुल्गेरिया र थाइल्याण्डले क्रमशः १/१ स्वर्ण प्राप्त गरेका छन् । सैद्धान्तिक परीक्षामा चेक रिपब्लिकका अलेक्स फेयव ‘बेस्ट इन थेउरी’ अन्तर्गत स्वर्ण प्राप्त गरेका हुन् । त्यस्तै, प्रयोगात्मक परीक्षामा चीनका च्याहु जङगले ‘बेस्ट इन अब्जरभेसन’ अन्तर्गत स्वर्ण प्राप्त गरेका छन् ।
त्यस्तै, चेक रिपब्लिकका अलेक्स फेयवले ‘बेस्ट इन ओवरल्’ प्राप्त गरे । ओलम्पियाडकै एक गतिविधिका रुपमा आयोजित ‘खगोल र संकृति’ पोस्टर प्रतियोगितामा दश देशले पोस्टर प्रदर्शनमा राखेकोमा मतदान मार्फत् चेक रिपब्लिकले बाजी मार्यो ।
हेर्नुहोस् पदक तालिका,

सहभागीलाई विभिन्न १६ समूहमा विभाजन गरी प्रतियोगिता गराइएको थियो, जसमा एपिमेथियस टोली विजयी भयो।
समापन समारोहमा बागमती प्रदेशका मन्त्री हरिप्रभा खड्गीले नेपालमा ओलम्पियाड कार्यक्रमका लागि नीतिगत नियम बनाउने बताइन्। उनले खगोलीय विज्ञान, प्रविधि, र पर्यावरणमा थप विकास गर्नुपर्ने उल्लेख गरिन्।
ओलम्पियाडमा इटाली पहिलो पटक सहभागी भएको थियो। अध्यक्ष अनिकेत सुलेले नेपाललाई ऐतिहासिक र सांस्कृतिक महत्त्वको देश बताउँदै उच्च लक्ष्य राख्नुपर्ने धारणा राखे।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले नेपालमा यसले खगोल विज्ञानमा टेवा पुर्याउने बताए।