प्रतिपक्षी दलले सरकारलाई ज्ञापनपत्र बुझाउन कार्यदल गठन

काठमाण्डौ – विपक्षी दलहरूले सरकारलाई दबाब दिन ज्ञापनपत्र बुझाउने र संसद्को विशेष अधिवेशन बोलाउन तयारी गर्न कार्यदल गठन गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको बैठकमा यो निर्णय गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले यो जानकारी दिनुभएको हो।

कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपाका शिशिर खनाल, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राप्रपाका एक जना प्रतिनिधि सहभागी हुनेछन्।

कार्यदलले आइतवारसम्म ज्ञापनपत्र तयार पारेर कात्तिक ५ गते प्रधानमन्त्रीलाई बुझाउने योजना बनाएको छ। साथै, संसद्को विशेष अधिवेशन बोलाउन आवश्यक तयारी पनि गर्नेछ।

विपक्षी दलहरू सरकारलाई साना दल विभाजन गर्न अध्यादेश ल्याउन नदिन विशेष अधिवेशनको माग गर्दै छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले पार्टी विभाजन गर्न अध्यादेश ल्याउने आशंका रहेको कुरा बैठकमा उठाउनु भएको थियो।

यसैबीच, बाढी पहिरो पीडितहरूको पुनर्स्थापनामा सरकार गम्भीर नभएको भन्दै बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

आजको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको हो, जसमा सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको उपस्थिति पनि थियो।

By Nepalgunj Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts