-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

दाङबाट आठ नाल बरुवा बन्दुक बरामद

प्रहरी टोलीले मंगलबार बिहान ६ बजेदेखि ११ बजेसम्म विशेष अप्रेसनका क्रममा भरुवा बन्दुक बरामद
  • E Imagine Infotech
  • २०८३ भाद्र ३०, मंगलवार १९:०० गते

दाङ:  दाङमा प्रहरीले आठ नाल बरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।

जंगल तथा झाडीमा लुकाइराखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल कार्यालय दाङ तथा मातहतबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान ६ बजेदेखि ११ बजेसम्म विशेष अप्रेसनका क्रममा भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिएका छन ।

केसीका अनुसार इलाका प्रहरी कार्यालय भैंसाहीबाट खटिएको प्रहरी टोलीले राजपुर गाउँपालिका–७ भैंसाहीस्थित भैंसाही खोलाको किनार नजिकै झाडीमा लुकाइराखेको एक नाले भरुवा बन्दुक बरामद गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका–८ दुलेभिरस्थित सामुदायिक वनको झाडीमा लुकाइराखेको दुई नाल, प्रहरी चौकी गोलटाकुरीबाट खटिएको टोलीले दंगीशरण गाउँपालिका–९ बुर्कासालस्थित झाडीबाट दुई नाल भरुवा बन्दुक बरामद गरेको छ ।

प्रहरी चौकी चिराघाटबाट खटिएको टोलीले शान्तिनगर गाउँपालिका–३ सिर्जना सामुदायिक वनबाट एक नाल, अस्थायी प्रहरी पोष्ट रिहारबाट खटिएको टोलीले लमही नगरपालिका–९ स्थित आमबासौली सामुदायिक वनको झाडीमा लुकाइराखेको अवस्थामा दुई नाल भरुवा बन्दुक बरामद गरेको छ ।

बरामद भएका बन्दुक सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिएका छन ।