-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo
खर्च माग

झापामा जेन-जी आन्दोलनका घाइतेहरूले थाले आमरण अनशन

उपचार र जीवनयापन खर्च माग
  • E Imagine Infotech
  • २०८३ भाद्र ३१, बुधबार १७:०० गते

विराटनगर । झापाको बिर्तामोडमा जेन-जी आन्दोलनका घाइतेले सरकारसमक्ष विभिन्न माग राख्दै आमरण अनशन सुरु गरेका छन्। आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका-६ का विवेक दनुवारले बिर्तामोडमा आमरण अनशन सुरु गरेका हुन् । उनको अनसनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनका अन्य घाइतेहरू पनि सहभागी भएका छन्।

अनशनरत दनुवारले घाइतेहरूको निःशुल्क तथा गुणस्तरीय उपचारको प्रबन्ध मिलाउनुपर्ने र हालसम्म उपचारमा लागेको खर्च राज्यले बेहोर्नुपर्ने माग अघि सारेका छन् । साथै घाइतेहरूका लागि उचित क्षतिपूर्ति र दीर्घकालीन जीवनयापनको व्यवस्था गरिनुपर्ने उनको माग छ ।

त्यसैगरी, घाइते वा उनीहरूका परिवार र सहिद परिवारलाई निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने, सार्वजनिक यातायातमा घाइतेहरूलाई विशेष छुट दिनुपर्ने तथा घाइते एवं सहिद परिवारका मागहरू सम्बोधन गर्न विशेष कानुन निर्माण गर्नुपर्ने माग अनसनकारीहरूले राखेका छन् ।

जेन-जी आन्दोलन कुनै दललाई बहुमतको सरकार बनाउनका लागि मात्र उपयोग गरिएको जस्तो देखिएको भन्दै उनीहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका थिए । झापामा जेनजी आन्दोलनका क्रममा १०० जनाभन्दा बढी घाइते भए पनि हालसम्म ४३ जनाले मात्र घाइते परिचयपत्र पाएका छन् ।