

वीरगञ्ज । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्। पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत बिहीबार भएको मनोनयन दर्तामा अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
अध्यक्ष पदमा प्रतिस्पर्धा नभए पनि जनमत पार्टीका अन्य पदमा भने निर्वाचन हुने भएको छ। आगामी ९ र १० असोजमा वीरगञ्जमा हुने दोस्रो महाधिवेशनका लागि विभिन्न पदमा अपेक्षाभन्दा बढी उम्मेदवारी परेको जनाइएको छ।
प्रारम्भिक उम्मेदवार सूचीअनुसार सात जना उपाध्यक्षका लागि १४ जनाले उम्मेदवारी दिएका छन्। उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी र माधवप्रसाद सिंह उम्मेदवार बनेका छन्।
त्यसैगरी राजकुमार यादव त्यागी, डा. कमरुल्लाह अन्सारी, सञ्जयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोसन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी वैठाले पनि उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलका अनुसार एक जना निर्वाचित हुने महासचिव पदमा तीन जनाको उम्मेदवारी परेको छ। महासचिवका लागि ममता झा, चन्दनकुमार सिंह र सञ्जयकुमार यादव चुनावी मैदानमा छन्।
त्यस्तै उपमहासचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ। यस पदका लागि निर्मलकुमार मण्डल र ललितचन्द्र मल्लिकले उम्मेदवारी दिएका छन्।
सात जना निर्वाचित हुने सचिव पदमा भने १० जनाले उम्मेदवारी दिएका छन्। यससँगै अध्यक्ष पदमा राउतको नेतृत्व सुनिश्चित भए पनि पार्टीका अन्य महत्वपूर्ण पदमा भने महाधिवेशन प्रतिनिधिबीच प्रतिस्पर्धा हुने भएको छ।
जनमत पार्टीको दोस्रो महाधिवेशनबाट अध्यक्षसहित केन्द्रीय नेतृत्व चयन हुँदैछ। अध्यक्षमा राउत निर्विरोध भएसँगै अब अन्य पदका लागि हुने निर्वाचनतर्फ पार्टीभित्रको ध्यान केन्द्रित भएको छ।

