-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo
​#वीरबल_तामाङ ​#किस्पाङ_गाउँपालिका ​#बैंकिङ_कसुर ​#काठमाडौँ_जिल्ला_अदालत ​#केन्द्रीय_कारागार_सुन्धारा

२२ लाख धरौटी बुझाउन नसकेपछि अध्यक्ष जेल चलान

  • नेपालगञ्ज खबर
  • २०८३ आश्विन २, शुक्रबार १९:५४ गते

काठमाडौँ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले माग गरेको २२ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ केन्द्रीय कारागार सुन्धारा चलान भएका छन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार थुनछेक बहस सकिएपछि तामाङलाई २२ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। तर तोकिएको रकम तत्काल बुझाउन नसकेपछि उनलाई थुनामा राख्न सुन्धारा पठाइएको अदालतका सूचना अधिकारी शिव खतिवडाले बताए।

के थियो विषय?

अध्यक्ष तामाङविरुद्ध एक महिलाले प्रहरी वृत्त दरबारमार्गमा बैंकिङ कसुरको जाहेरी दिएकी थिइन्। प्रहरीले अनुसन्धान सकी मुद्दा अदालतसम्म पुर्‍याए पनि उनी उपस्थित नभई पन्छिँदै आएकाले लामो समयदेखि फरारको सूचीमा थिए।

सिंहदरबारबाटै पक्राउ

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग सिंहदरबारमा आयोजना गरेको बैठकमा सहभागी हुन तामाङ पुगेका थिए। छलफल सकेर बाहिरिने क्रममा प्रहरीले उनलाई सिंहदरबार परिसरबाटै नियन्त्रणमा लिएको थियो।

काठमाडौँ जिल्ला अदालतमा पेश गरिएका उनले मागबमोजिमको २२ लाख धरौटी बुझाएको खण्डमा भने जुनसुकै बेला थुनामुक्त हुन पाउनेछन्।