-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

चितवनका चर्चित जंगली हात्ती ‘रोनाल्डो’ मृत भेटिए, मृत्युको कारण खोज्दै निकुञ्ज

  • नेपालगञ्ज खबर
  • २०८३ आश्विन ३, शनिबार ११:५५ गते

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि चर्चामा रहेको जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ। निकुञ्जको विषहजारी पोस्टनजिकै रोनाल्डोको शव भेटिएको हो।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रोनाल्डो मृत भेटिएपछि घटनाबारे अनुसन्धान थालिएको छ। हात्तीको मृत्यु के कारणले भयो भन्ने विषयमा भने अहिलेसम्म यकिन जानकारी सार्वजनिक गरिएको छैन।

निकुञ्जका अधिकारीहरूले मृत्युको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाइएको बताएका छन्। रोनाल्डोको मृत्यु प्राकृतिक कारणले भएको हो वा अन्य कुनै कारण जिम्मेवार छ भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने जनाइएको छ ।

चितवनमा रोनाल्डोको प्रभाव !

रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जमा प्रभावशाली र चर्चित जंगली हात्तीका रूपमा परिचित थियो। निकुञ्जको विवरणअनुसार  २०८३ असारसम्म निकुञ्जको केन्द्रमा जन्मिएका ६९ वटा छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान हुन्।

यसले चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको प्रजनन तथा वंश विस्तारमा रोनाल्डोको महत्वपूर्ण योगदान रहेको देखाउँछ।

चर्चित जंगली हात्तीको मृत्यु भएपछि वन्यजन्तु संरक्षणमा चासो राख्नेहरूमा समेत चासो र चिन्ता बढेको छ। विशेषगरी रोनाल्डोको मृत्युको वास्तविक कारण के हो भन्ने विषयमा धेरैको ध्यान केन्द्रित भएको छ।

निकुञ्जले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानबाट प्राप्त तथ्यपछि मात्रै रोनाल्डोको मृत्युको वास्तविक कारणबारे स्पष्ट जानकारी आउने बताइएको छ।